“कोरोना संक्रमित ब्यक्तिको अनुभव र अध्ययन” विकल ‍श्रेष्ठ (थानकोट स्थानीय बासिन्दा)

“कोरोना संक्रमित ब्यक्तिको अनुभव र अध्ययन” 

नेपालमा कोभिड-१९ बाट संक्रमण हुनेहरुको संख्या ६० हजार भन्दा माथि पुगिसकेको छ। दुई पल्टको लकडाउन पश्चात पनि काठमाडौंमा संक्रमितको संख्या दैनिक ५००-६०० ले बढिराखेको छ। त्यस मध्य म पनि एक संक्रमित हुँ । म संक्रमित कसरी भएं मलाई थाहा छैन, तर शंका लाग्नासाथ म आफ्नो टेस्ट गराउन गएँ र रिजल्ट नआउँदासम्म  घरमा आइसोलेसनमा बसें । म आफु परिवार र समाजलाई कोरोना सार्ने कारक बन्न चाहान्नथें । नभन्दै टेस्ट कोरोना पोजिटिभ आयो, अनि म किर्तिपुर स्थित आर्युवेदिक अस्पतालमा  Isolation मा बस्न गएँ। १४ दिनको isolation पूरा गरी थप एक हप्ता म घरमै isolation मा छु ।

चिनबाट सुरु भएको कोभिडले विश्वका धेरै देशहरु सँगसँगै नेपाललाई पनि आक्रान्त पारेको छ । दैनिक रुपमा बढ्दै गएको संक्रमण र मृत्युको समाचार हामी सुनिरहेका हुन्छौं । मेरो व्यक्तिगत चिनजानमा आफू भन्दा पहिले कसैलाई पनि कोभिड भएको थिएन त्यसैले यसबारे धेरै बुझ्ने कुरा पनि भएन । सुरुका २-३ दिन जब मलाई ज्वोरो आयो, त्यतिखेर मलाई भाइरल ज्वोरो हो कि भन्ने लाग्यो । सँगसँगै कोभिड पो हो की भन्ने डरले पनि कता कता मन झस्कीरहन्थ्यो । अलि अलि मन आत्तिय जस्तो पनि भयो तर ज्वोरो कम भएपछि निकै नै तङग्रिएको महशुस भयो र डर पनि विस्तारै हट्दै गयो ।

यि दुविधा, अन्योलता र कोभिड आफैमा नयाँ रोग भएकोले यस्को बारे जान्ने बुझ्ने रहर पैदा भयो र म स्वअध्ययन तिर लागे। वैज्ञानिक अनुशन्धानहरु पढे, चिकित्सक तथा microbiologist साथिहरु सँग सोधपुछ गरे र त्यहाँबाट प्राप्त जानकारि र आफ्ना अनुभवहरु समेटि यो जानकारिमूलक ब्लग तयार गरेको छु । आशा गर्छु धेरैको मनमा उठिरहेका कयौं प्रश्न एवंम जिज्ञाशाहरु मेटिने छ र यस्ले कोभिडबाट उब्जिएको शंका र त्राश हट्न केहि मद्धत गर्ने छ ।

कोभिड लागेको / नलागेको कसरी थाहा पाउने ?

मैले स्वअध्ययन एवं आइसोलेसनमा रहेका मेरा सहकक्षीहरूसंग सोध्दा कोभिडको लक्षण सबैलाई एउटै नहुन सक्छ भन्ने बुजें। सामान्यतया सुख्खा खोकी लाग्ने, ज्वरो आउने, टाउको भारी हुने / दुख्ने, स्वाद र गन्ध थाहा नहुने, थकान महसुस हुने, हात खुट्टा गल्ने, कुरा गर्न मन नलाग्ने, झर्को लाग्ने, पखाला लाग्ने र सास रोक्न नसक्ने हुन्छ। यसमा मेरो अनुभव चाहिँ, २-४ दिनसम्म खाना नरुच्ने र स्वाद थाहा नहुने पनि हो। त्यस्तै कोभिड लागेकालाई खोकि लागेपनि सिंगान र बाक्लो खकार भने आँउदैन। मलाई चाहिं ज्वरो आउने, टाउको भारी हुने, खानाको स्वाद थाहा नहुने र थकान महसुस हुने भएको थियो।

लक्षण देखा परेपछि पि.सि.आर. गर्न कहाँ जाने ? 

पि.सि.आर. गर्न राष्ट्रिय प्रयोगशाला टेकु, पाटन अस्पताल, विर अस्पताल, शिक्षण अस्पताल वा निजी आस्पताल, जस्तै Star Hospital सानेपा, HAMS मन्डिकाटार, KMC सिनामंगल, लगायतमा जान सकिन्छ। टेकुमा लाईन बसेर रु ३० मा नै पि.सि.आर. गर्न साकिन्छ तर त्यहाँको व्यवस्थापन गतिलो नहुँदा सामाजिक दुरीको खयाल नगरिनुका साथै दिनको ३०० जनाको मात्र पि.सि.आर. गरिने हुँदा, यदि तपाईंलाई कोभिड छैन भने पनि टेकु जाँदा जोखिममा पर्न सक्नु हुन्छ । मैले स्टार अस्पतालमा पि.सि.आर. गरेको हुँ। त्यहाँ चाहिं रू ४,४००/- शुल्क लिएको थियो। (सुरुमा यो शुल्क रू ५,५००/- थियो भने अहिले सरकारले शुल्क रू २,०००/- तोकेको छ) ।

 पि.सि.आर. गर्दा के-के कुरामा ध्यान दिने ?

मेरा Microbiologist तथा lecturer मित्र आत्मज श्रेष्ठ भन्नुहुन्छ पिसिआर गर्न जादाँ खाना / खाजा खाएको कम्तिमा आधी घण्टा भएको हुनुपर्छ। गुट्खा,खैनि केहि पनि मुखमा हुनुहुन्न। पि.सि.आर.को swab नाकबाट र घाँटिबाट लिइन्छ। घाँटिबाट लिइएको swab मा भन्दा नाकबाट लिएकोमा धेरै Accuracy हुन्छ भने दुबैबाट लियियो भने अझै  धेरै Accurate हुन जान्छ । पि.सि.आर. गर्न जाँदा आधी घण्टा अगाडी नुन- पानीले कुल्ला गर्नु उत्तम हुन्छ। यसो गर्दा यदि मुखमा मृत भाइरस छ भने नुन-पानीले उक्त मृत भाइरसको अवशेषहरुलाई समाप्त पार्छ। यदि कुल्ला नगरी पि.सि.आर. गरेमा जिवित र मृत दुबै भाइरस देखाउँछ र तपाईको मृत भाइरस मात्रै देखिए पनि रिजल्ट पोजिटिभ हुन सक्छ। दोस्रो पटक (पि.सि.आर. रिजल्ट पोजिटिभ आएको १० दिन पछि) पि.सि.आर. गर्दै हुनुहुन्छ भने कुल्ला गरेर टेस्ट गर्ने सल्लाह दिन चाहन्छु।

जापानको एउटा रोचक प्रसङग छ। त्यहाँ एक जना संक्रमितलाई ४१ दिन मा पिसिआर गर्दा समेत पोजिटिभ देखायो, कसरी यस्तो भयो भनी बुझ्दै जाँदा ती व्यक्तिले कहिले दाँत नमाझ्ने रहेछन् र रोग निको भइसक्दा पनि पि.सि.आर.मा पोजिटिभ नै देखाइरहेको रहेछ।

Swab दिए पछि रिजल्ट कति दिन पछि आउँछ?

तपाईंले Swab टेकुमा वा अन्य जुनै अस्पातलमा दिनुभए पनि रिजल्ट ६ देखि २४ घण्टा सम्ममा आउँछ । यदि तपाईंको रिजल्ट नेगेटिभ छ भने ६-१० घण्टा मै SMS आउँछ र दिइएको Username र Password हाली Website मा चेक गर्न सक्नुहुन्छ । तर रिजल्ट पोजिटिभ छ भने SMS नआइ टेकुबाट फोन आउँछ । निजी अस्पातलमा swab दिनुभएको छ भने पनि पोजिटिभ रिजल्ट, निजिले announce गर्न मिल्दैन, साथै राष्ट्रिय गणनामा पनि अभिलेखिकरण गर्नुपर्ने र अरु प्रकियाहरु पनि हुने हुँदा टेकु अस्पतालबाट नै फोन गरिन्छ । मलाई पनि SMS नआइ मेरो टेस्ट पोजिटिभ भएको फोन नै आएको थियो।

फोन मात्र आउने भए पोजिटिभ रिपोर्ट कसरी लिने ?

त्यसका लागि तपाईंले जहाँबाट swab दिएको हो, त्यहाँ गएर फारम भर्नुपर्छ र केही समयमैं तपाईंले रिपोर्ट लिन सक्नुहुन्छ । तपाईं isolation मा बस्नुहुने भएकाले कसैले पनि आफ्नो ID को कपि दिइ रिपोर्ट लिन सकिन्छ । कोभिड Insurance गर्नु भएको छ भने यो अनिवार्य चाहिन्छ।

पि.सि.आर. र पोजिटिभ केसको CT Value (Cycle Threshold  Values) ?

मेरा मित्र आत्मज श्रेष्ठले पि.सि.आर र CT Value बारे सामान्य सबैले बुझ्ने भाषामा मलाई सम्झाउनु भयो जुन म यहाँहरुको अघि राख्न गइरहेकोछु। सर्वप्रथम त पि.सि.आर. भनेको कुनै भाइरस, ब्याक्टेरिया, जीव वा वनस्पतिहरु एक अर्कोमा कति समान वा फरक छन् भनि आनुवांशिक (genetic) आधारमा पत्ता लगाउने प्रविधी हो। पि.सि.आर. विधीबाट भाइरसको कुल,जात,र गोत्र सबै पत्ता लाग्छ। भाइरस धेरै सानो हुने हुनाले कोभिड छ कि छैन भनेर भाइरसको आनुवंfशिक जन्म कुंडली पि.सि.आर विधीबाट बनाउन सकिन्छ। सामान्य शैली मा भन्नुपर्दा, भाइरसको अनुवांशिक कणको photocopy तयार गरेर धेरै आनुवंशिक कण तयार गरिन्छ, जसबाट भाइरस छ छैन भन्ने पत्ता लाग्छ । यस क्रममा जति चोटि photocopy गरे पनि कोभिड भाइरस देखिएन भने रिजल्ट नेगेटिभ भयो। अनि कति चोटि photocopy गर्दा भाइरस देखियो त्यो CT value भयो।

मेरो CT Value १६ थियो, अर्थात १६ चोटि photocopy गरे पछि बल्ल भाइरस देखियो। CT Value पोजिटिभ रिपोर्ट को तल दिएको हुन्छ। CT Value कम हुनुको अर्थ तपाईंमा Virus Load धेरै छ र तपाईंले अरुलाई सार्न सक्ने सम्भावना पनि धेरै छ। CT Value धेरै छ भने तपाईंमा Virus Load कम छ र तपाईंले अरुलाई सार्न सक्ने सम्भावना पनि कम छ र अब तपाईं निको हुने क्रममा हुनुहुन्छ। यदि बिरामी लाई दीर्घरोग छ भने CT Value  जति भए पनि बिरामीलाई कति खतरा छ / छैन भन्ने चाहिँ यकिन नहुन सक्छ।

पोजिटिभ भएको थाहा पाए पछि के गर्ने ?

एक सचेत नागरिकले टेस्ट रिजल्ट पोजिटिभ आएपछि भन्दा पनि swab दिएर आए पछिनै घरमा isolation मा बसिहाल्नुपर्छ, यसो गर्दा घरको अन्य परिवार सदस्यलाई पनि संक्रमण हुनबाट जोगाउन सकिन्छ । आफू पोजिटिभ भएको थाहा भएपछि अब तपाईले ७-१० दिन अघिसम्म आफ्नो सम्पर्कमा आएकाहरुलाई सुचित गराउनुहोस् र कुनै लक्षण देखा परेमा तुरुन्तै पि.सि.आर गर्न उहाँहरुलाई भन्नुहोस् ।

तपाईंलाई श्वासप्रश्वासमा कुनै समस्या छैन र घरमा पर्याप्त ठाँउ छ र व्यवस्थित भएर बस्न सकिन्छ भने घरमै isolate भएर बस्नुहोस्। Isolate भएर बस्दा आफुले प्रयोग गर्ने सामाग्री जस्तै तौलीया, शौचालय, भाँडा-कुँडा अलग्गै होस् भनेर बिचार पुर्‍याउनु पर्ने हुन्छ। । यदि शौचालय अलगै प्रयोग गर्न सकिँदैन भने कोभिड बिरामीले प्रयोग गर्नु अघि र पछि disinfectant प्रयोग गर्नै पर्ने हुन्छ ।  मेरो घरमा पर्याप्त ठाँउ भए पनि परिवार ठूलो भएकाले अरुमा संक्रमण नहोस भनी म यहाँ आयुर्वेदिक अस्पताल, किर्तिपुर आएँ ।

यदि तपाई डेरा गरि बस्नुहुन्छ, सानो ठाँउमा बस्नुहुन्छ, घरमा उमेर भएका बुढा-बुढीहरु हुनुहुन्छ या दीर्घरोगी कोहि हुनुहुन्छ भने सरकारले तोकेको Isolation Center मा गएर बस्दा उचित हुन्छ। मेरो अनुभवमा यदि ५ सेकेन्ड सम्म लामो सास तानेर १० सेकेन्ड होल्ड गरी बिस्तारै सास छाड्न सकिन्न भने अस्पताल गएको राम्रो हुन्छ।

आफ्नो टेस्ट रिजल्ट पोजिटिभ आए पछि सम्पर्कमा आएकाहरुको कहिले पि.सि.आर.  ( Contact tracing) हुन्छ ?

तपाईको टेस्ट पोजिटिभ आएपछि तपाईको नगरपालिका वा वडाले तपाईलाई २ दिन भित्र फोनमा सम्पर्क गर्नेछ । तपाईको स्वास्थ अवस्था, तपाईको परिवारका सदस्यको अवस्था वा केहि मदत चाहिएको / नचाहिएको बारेमा जानकारी लिनेछ । तपाईले पनि ७-१० दिन भित्र भेटेका मानिसहरुको जानकारी सम्बन्धित नगरपालिकामा Contact Tracing को लागी फोन नं. सहित दिनुहोस् । तपाईंको सम्पर्कमा आएकाहरुको नतिजा गलत नआओस् भनेर ७ दिन पछि मात्र पि.सि.आर. लिइन्छ ।

घरमै isolation मा बस्दा के गर्ने ?

सामान्यतया स्वस्थ मानिसलाई कोभिड भएपछि ३-४ दिन अलि गाह्रो हुन्छ र पछि सजिलो हुँदै जान्छ। घरमा अक्सिजन नाप्ने instrument छ भने बेला – बेलामा अक्सिजन नाप्नुपर्छ र ख्याल गर्नु पर्ने कुरा चाँहीं अकसिजन लेबल हरपल ९५ भन्दा माथि हुनुपर्दछ। तातो पानी खाने, ३ पल्ट बाफ लिने, झोलिलो खाना खाने गर्नुपर्छ । खोकि छ भने अम्बाको पात र नुन हालेर कुल्ला गर्दा खोकिलाई निकै कम गर्छ भन्ने मानिन्छ । यदि ज्वरो छ भने चिकित्सकको सल्लाह अनुसार ६-६ घण्टाको फरकमा सिटामोल खानुपर्ने हुन सक्छ । खानामा सुपाच्य, पौष्टिक, कम चिल्लो पिरो वा मसला भएको, सफा ठाउँमा सफा तरिकाले तयार गरिएको खाना खानु पर्दछ । दैनिक आहारमा फलफूलको मात्रा बढाएको राम्रो हुन्छ । घरेलु उपचारमा दुधमा बेसार हालेर, गुर्जो र च्यवनप्राश सेवन गर्दा पनि फाइदा नै गर्छ। यी बहेक अन्य multi-vitamin tablet वा वैद्यखानामा पाइने अन्य immunity बढाउने औषधीहरुको पनि सेवन गर्न सकिन्छ । मलाई आयुर्वेदिक अस्पतालमा पनि नियमित तीन पल्ट आयुर्वेदिक औषधीहरु दिने गरिन्थ्यो ।

स्वास्थ्यले साथ दिएसम्म बिहान बेलुका योगा, ध्यान, कसरत गर्न सकिन्छ र गीत -संगितले पनि धैरै मद्दत गर्छ। hygiene  लाई एकदम ध्यान दिनु पर्छ । तातोपानीले (चिसो पानी ले चैं होइन) दिनकै नुहाउनु राम्रो, साथै सरसफाईमा विषेश ध्यान दिनु पर्छ। मुख्य कुरा आत्मबललाई मजबुत बनाउनु पर्छ, डराउनु आत्तिनु हुन्न। यस्का लागि  परिवारको अन्य सदस्य, छिमेकी, साथी-संगीहरुको सहयोग तथा सद्भाव पनि महत्वपूर्ण रहन्छ ।

Covid-19 को बिरामी हुँदा र Isolation Center मा बस्दाको अनुभव कस्तो रह्यो ?

म किर्तिपुर स्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा isolation मा बसेको थिएँ । यो ठाँउलाई भर्खर (कोभिडको संक्रमण फैलिएपछि) सरकारले कोभिड आइसोलेसन अस्पतालको रुपमा रुपान्तरण  गरेको हो। यहाँ दुईवोटा ब्लक गरी करिब २०० जना जति कोरोना पोजिटिभ भएका व्यक्तिहरू थिए र यहाँ भेन्टिलेटर नभएको हुँदा सबै Mild लक्षण भएकालाई मात्रै राखिन्छ । खाना-खाजा, औषधी, सरसफाई, Internet को सुविधा, खेल्नका लागि carom-board को व्यवस्था, डाक्टर-नर्सको हेरचाह र समग्र व्यवस्थापनका लागि यहाँका महानिर्देशक डा. राम अधर यादव ज्यू लगायत सम्पूर्ण team लाई जति मुक्तकण्ठले तारिफ गरेपनि कम हुन्छ। विषेशतह यहाँ दिइने आयुर्वेदिक औषधी र बिहान-बेलुकि गरिने योगा, ध्यान र नाचगानले बिरामीको मनबोल बढाएको अनुभव मैले गरें र मुख्य कुरा यहाँको खर्च सबै सरकारले नै बेहोरी रहेको छ।

तपाई पनि पोजिटिभ बिरामी हुनुहुन्छ भने या त शुल्क तिरेर कुनै होटेल वा निजी अस्पतालमा बस्न सक्नु हुन्छ वा सरकारले तोकेको isolation center मा निशुल्क पनि बस्न सक्नु हुन्छ। सरकारको नयाँ नियम अनुसार सरकारी Isolation Center मा बस्ने हो भने १४ दिन बस्नै पर्छ र १४ दिन पछि तपाईको फेरि पि.सि.आर. test नगरीकनै discharge गरिन्छ ।

१४ दिन घर बाहिर बस्नु पर्दा बानी छैन भने तपाईलाई Homesickness पनि हुन सक्छ। यदि Isolation मै जाने हो भने एक सेट कप, गिलास, प्लेट, चम्चा, ल्यापटप, किताब, पेन, पेपर, पातलो Blanket बोक्नुहोस् । त्यस्तै थोरै चिनी, चियापत्ती, फल फूल, बिस्कुट अनि मनोरन्जनका लागि लुडो, तास पनि बोक्न सकिन्छ।

मैले के के पूर्व तयारी गर्नुपर्छ ?

नेपालमा अझ काठमाडूंमा कोभिड बढेको बढै छ। सतर्कता अपनाउँदा अपनाउँदै पनि तपाई पनि संक्रमित हुन सक्नुहुन्छ, तेसैले केहि पूर्व तयारी गर्दा राम्रो हुन्छ। एउटा disinfection spray box र disinfection झोल किन्नुहोस र धैरै जसो छोइरहने ठाउँ जस्तै ढोकाको ह्याडल, कुचो, डस्ना, टेबुल, कुर्सि, टि भि रिमोट आदिमा नियमित disinfect spray गर्नुहोस्। यो नजिकको बिषादी पसल या कालिमाटि तरकारी बजार छेउतिर किन्न पाइन्छ्। घरमा कम्तिमा एउटा अक्सिजन नाप्ने यन्त्र (oxymeter) राख्नु होस्। आजभोली यो shortage छ भन्ने सुनेको छु तरपानि यो त्रिपुरेश्वरको मेडिकल सप्लाई गर्ने पसलहरुमा पाइन्छ होला। यस्को यथार्थ मूल्य रू १५०० – १६००/- जति पर्दछ । त्यस्तै, घरमा उमेर पुगेका बुढा-बुढि छन् भने अक्सिजन सिलिनडर नि राखेको राम्रो। पर्याप्त मास्क र कम्तिमा एउटा (सानो परिवारमा) बाफ लिने भाँडो राख्नुहोस । यसका साथै स्वास्थ्यको ध्यान राख्न माथि उल्लेखित घरेलु उपचारका उपायहरु अपनाउन सकिन्छ ।

निको भएछि फेरि कोभिड लाग्छ त? 

यो भाइरस नयाँ किसिमको भएकोले फैलन सुरू भएको करिब १ बर्ष हुंदैगर्दा पनि यसमाथि अझै धेरै अध्ययन गर्न बाँकि छ। त्यसैले यस्तै हुन्छ भन्ने कसैले भन्न सक्दैन तर पनि वैज्ञानिक समुदायको अनुसार सामान्यतय हामीलाई जुन भाइरस एकपल्ट लाग्छ, त्यो निको भए पछी फेरि लाग्दैन, जस्तै पोलियो, दादुरा आदि। हाम्रो शरिरमा रहेको (immune system) रोगप्रतिरोधात्मक क्षमता ले Anti-body (भाइरस संग लड्ने तत्व) को विकास गरेको हुन्छ र यो शरिरमा कति समय सम्म रहन्छ भन्ने कुरा ब्यक्ति- ब्यक्तिको immune system मा फरक पर्छ। हामीलाई एकपटक रुघाको भाइरस लाग्यो र निको भयो भने पनि फेरि ६ महिना पछि तेहि रुघाको भाइरस लाग्न सक्छ, किनभने त्यति बेला हाम्रो शरिरमा रहेको immune system ले ६ महिनाको लागी मात्र पुग्ने Anti-body बनाएको थियो। त्यसैगरि कोभिड फेरि लाग्छ कि लाग्दैन भन्ने कुरा पनि तपाईको शरिरमा Anti-body कति समयको लागी बन्यो भन्ने मा भर पर्छ।

कोभिड भाइरस पनि पहिले लागेर निको भएपछि फेरि लाग्ने सम्भावना छैन भन्नु गलत हुन्छ, तर अध्ययनले देखाएको अनुसार फेरि उहि कोभिड भाइरस लाग्ने सम्भावन निकै कम छ र लाग्दा पनि यसले गाह्रो बनाएको छैन।

अर्को बुझ्नु पर्ने कुरा चाहिँ के हो भने, जब चीन बाट संसार डुल्दै यो एक ब्यक्तिबाट अर्कोमा सर्दै नेपाल आइपुग्यो, यो कोभिड आफैले आफ्नो रुप परिवर्तन (mutation) गरि सकेको हुन सक्छ। सजिलो भाषामा भन्दा, चिनमा हुँदा यदि यो कोभिड-क थियो भने काठमाडौं आइ पुगे पछि यो कोभिड –ख, ग या घ भइ सकेको हुन सक्छ। अब यदि तपाईलाई कोभिड-ख भएर निको भएको थियो भने फेरि कोभिड-ख नै हुने सम्भावना निकै कम छ। तर केहि समय पछि फेरि कोभिड ग या घ हुने जोखिम चाहिँ पक्कै हुन्छ । मानौं मेरो परिवार लाई कोभिड-ख थियो वा काठमाडौं मै सबैलाई कोभिड-ख भएको थियो भने अब यो लागेर निको भए पनि फेरि मानिसको खुल्ला आवतजावतले गर्दा काठमाडौंमै फेरि कोभिड-ग देखिन सक्ने सम्भावना रहन्छ ।

के Vaccine लगाए पछि सबैलाई निको हुन्छ त?

संसार भरिका धेरै वैज्ञानिककरू हाल कोभिड विरूद्धको भ्याक्सिन बनाउन दिन रात खटिएका छन् । खोप बनाउनुको उद्येश्य नै रोग निर्मूल गर्न हो । विश्वमा व्याप्त कोरोनाको स्ट्रेन विरूद्ध बन्ने यस्तो खोपले यस रोगलाई फैलन नदिन ठूलो भूमिका खेल्ने कुरामा दुइमत छैन । र यस्तो खोपले कति समय काम गर्छ भन्ने कुरा कति चाँडै यो भाइरसलाई हामीले निर्मूलीकरण गर्न सक्छौं, त्यसमा भर पर्छ । यसको लागि विश्वभरका देश र त्यहाँका निवासी नागरिकहरू एकजुट हुनु आवश्यक हुन्छ । तर यदि भाइरस कुनै देश या समुदायमा रही रहन्छ भने त्यस भाइरसले कालान्तरमा आफ्नो स्वरूप परिवर्तन गर्न सक्छ, जसको विरूद्धमा कुनै पनि उपलब्ध खोपले काम नगर्न सक्छ । त्यसकारण खोप बनेपछि सरकारले चयन गरेर आयात गरेको खोप सबै नागरिकले लगाई यस रोग विरूद्ध एकजुट भई लड्नु बुद्धिमानी हुनेछ ।

Plasma दान कहाँ गर्ने ?

कोभिडबाट निको भइसके पछि सबैभन्दा खुशीको कुरा के हो भने तपाईंले अब रगतमा हुने Plasma दान गर्न सक्नु हुन्छ। यो रक्तदान जस्तै प्रक्रिया हो । भाइरससंग लड्न तपाईको रक्त कोषमा बनेको antibody लाई प्लाज्माको माध्यमबाट यस रोगसंग लडिरहेका बिरामीहरूमा ट्रान्सफर गरिने पद्धतिलाई plasma transfer भनिन्छ । आफ्नो Plasma transfer गर्ने अनुमति दिएर तपाईंले जटिल कोभिड बिरामीलाई बचाउन सक्नुहुन्छ। Plasma दान सम्बन्धि केहि जानकारी मैले लिएको छु, जुन म share गर्दै छु।

हाम्रो रगतमा red blood cell र white blood cell हुन्छ, शरिरबाट रगत निकाली केहि बेर centrifuge गरेपछि white blood cell सहितको पहेलो तरल पदार्थलाई रगतबाट छुट्याइन्छ, जसलाई Plasma भनिन्छ। सामान्यतया एक स्वस्थ  मानिसको शरिरबाट ४०० ML plasma निकाल्न सकिन्छ र त्यो २०० ML का दरले २ जाना ICU वा भेन्टिलेटरमा रहेका बिरामीमा transfer गर्न सकिन्छ। मानिसको शरिर (उचाई, तौल, प्रेशर आदि) हेरी ६०० ML सम्म दान गर्न सकिन्छ र तपाईको शरिरको अवस्था हेरेर १५-१५ दिनको Gap मा ६ चोटि सम्म दान गर्न सकिन्छ।

Plasma दान तपाईको रिपोर्ट नेगेटिभ आएको १४ दिन पछि ३ महिना भित्र गर्न सकिन्छ। रगत बाट plasma निकालिन्छ, र बाँकि रगतलाई फेरि शरिरमा नै फिर्ता पठाइन्छ। सबै व्यक्तिमा समान मात्रामा antibody नबनेको हुन सक्छ, जस अनुरुप ट्रान्सफर गरिएको प्लाज्माले बिरामीको स्वास्थ्यलाभ हुन या नहुन सक्छ । हाललाई Plasma दान शिक्षण अस्पताल, माहाराजगन्जमा गर्न सकिन्छ।

के कोभिड डर लाग्दो रोग हो कि यो केहि होइन ?

यो अवश्यपनि एउटा जटिल रोग हो, नत्र यसरी विश्वभरी फैलने थिएन । मूख्य कुरा यो मानिसको सासबाट सर्छ, त्यसैले एकदम छिटो पनि सर्छ । तर विश्वमैं हेर्ने हो भने यसको मृत्युदर न्यून छ, र रोग गेको धेरैलाई कुनै समस्या नभई निको हुन्छ र मलाई ब्यक्तिगत रुपले त ३-४ दिन टाउको झुम्म बनाउने र ज्वोरो आउने बाहेक केहि गाह्रो भएन। धेरैलाई त यो रोग बिना लक्षण लागेर नि निको भइसक्यो होला भन्ने अनुमान गर्न सकिन्छ, त्यसैले आतिनु पर्ने केहि पनि छैन। तर यदि दीर्घरोगी या उमेर भएका बुढा-बुढिलाई संक्रमण भयो भने चाँहि यसले पक्कै गाह्रो बानाउन सक्छ। मेरो घरमा ८३ बर्षको हजुर बुबा हुनु हुन्छ, हामीले जति जोगाए पनि Contact tracing मा उहाँ पनि संक्रमित देखिनु भयो। त्यसपछि उहाँ घरमै Home Isolation मा बस्नु भयो।  घरमा अक्सिजन नाप्ने र अक्सिजन दिने यन्त्र भएको हुँदा, उँहाले बेला बेलामा नाप्ने र अक्सिजन लिने गर्नु हुन्थ्यो। बिहान बेलुका बाफ लिने, तातो पानि खाने, गुर्जो मुखमा राख्ने लगायत सबै गर्नुभयो। भाग्यले उहाँलाई कुनै लक्षणनै देखा परेन र सिटामोल समेत खानु परेन, अब १४-१५ दिन पनि बितिसकेको हुँदा उहाँ पनि खतरा मुक्त हुनु हुन्छ भन्ने मलाई लाग्छ।

मैले थाहा नपाई मलाई कोभिड लागेर पनि निको भएको कसरी थाहा पाउने?

हामी मध्य धेरैलाई विना कुनै लक्षण थाहानै नपाई निको भएको हुन सक्छ, यो कसरी थाहा पाउने त? यसको लागी RDT टेस्ट महत्वपूर्ण हुन्छ, यदि तपाईको RDT टेस्ट पोजिटिभ आयो र पिसिआर टेस्ट नेगेटिभ आयो भने तपाईलाई लागेर पनि निको भैसक्यो भन्ने बुजिन्छ ।

के १४ दिन isolation मा बसेपछि घर बाहिर निस्कन मिल्छ त?

तपाईको रिपोर्ट पोजिटिभ आयो र तपाई १४ दिन isolation बस्नु भयो भनेपनि पिसिआर नेगेटिभ नआई तपाई बाहिर निस्कन मिल्दैन। हुन त १४ दिन पछि तपाईमा भाइरस लोड निकै कम हुन्छ र अरुलाई सर्न सक्दैन भनिन्छ, तर यकिनका साथ भन्न सकिदैन। कसैको ७ दिनमा नै टेस्ट गर्दा नेगेटिभ आएको छ, कसैको २१ दिन सम्म पनि पोजेटिभ आएको छ, त्यसैले मेरो बिचारमा पिसिआर नेगेटिभ बनाएर मात्र निस्कनु पर्छ होइन भने कम्तिमा २१ दिन isolation मै बसेको राम्रो हुन्छ ।

अन्तमा,

कोभिड-१९ संसारभर यसरी फैली सक्यो की अब यसलाई जिवनको हिस्सा (Part of Life) बनाएर अघि बढ्न बाहेक अर्को विकल्प छैन । यसो भन्नुको तात्पर्य यो कदापी होइन कि हामी निःफिक्री पहिले कै कोलाहलयुक्त जिवनशैलीमा फर्किउँ । यसको मतलब हो अब हामी यस बदलिंदो परिवेशमा उच्च सरतर्कताका साथ आफ्नो जिवनशैलीलाई सामान्यीकरण गर्दै जाऔं, मास्क अनिवार्य लागाऔं, बेला-बेला हात धोऔं, घर र समाज सफा र स्वच्छ राखौं, सामाजिक दुरी कायम गरौं, अनावश्यक भीड भाडबाट बचौं, सके सम्म रोग लाग्न नदिउँ, लागे पानि नआतिकन isolate भई बसौं।

देशले कोभिडका कारण अपूरणीय आर्थिक क्षति बेहोर्नुपरेको छ, र फेरि अर्को लकडाउन देशले धान्न सक्दैन। अब हामी सबैले कोभिड नियम पालान गरी नियमित काममा फर्कनुनै उचित देखिन्छ । लकडाउनले रोग लाग्ने दरलाई मात्र घटाउन सक्छ, रोग निर्मूल गर्न सक्दैन । र लकडाउनका अन्य थुप्रै नकारात्मक असरहरू हाम्रो आर्थिक सामाजिक मनोवैज्ञानिक एवं स्वास्थ्य क्षेत्र स्वयम् मा पनि पर्न गएको हुँदा अब कोरोनाको विरूद्ध लकडाउन बाहेकको विकल्प खोज्न जरूरी छ । हरेक नागरिकले आफ्नो तथा आफ्नो परिवारको स्वास्थ्यको ख्याल गरी एक सचेत तथा जिम्मेवार नागरिक भई कोरोना विरुद्ध लड्नु जरुरी छ । देशका ठूला चाडपर्व मध्येकमा दशैं तिहार नजिकिंदै गर्दा हामी सबै सजग हुनु जरुरी छ की यो साल को पर्वहरु सामान्य हुने छैनन् । हामी आफै रोग सार्ने कारक बनी रहेको हुन सक्छौं । हाम्रा अग्रजहरुको स्वास्थ्यको खयाल गरौं, पर्व संगै मनाउने अवसर त फेरी फेरी आउने नै छन् । 

– विकल ‍श्रेष्ठ 

@bikalshr
@bikalshr