चन्द्रागिरि नगरपालिकाले लकडाउनमा पनि विकास निर्माणलाई प्राथमिकता दिँदै

काठमाण्डौ, १७ जेठ २०७७ ।
चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दीको समयमा विकास निर्माणको कार्यलाई प्राथमिकता दिएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले बन्दाबन्दीको समयमा पनि नगरपालिकाभित्रका विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएको हो । विश्वव्यापीरुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणलाई रोक्न सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो ।

चन्द्रागिरिले बन्दाबन्दीमा पनि सामाजिक दूरी कायम राखी रु १५ करोड लागतमा बन्न लागेको नगरपालिकाको भवन निर्माणको कामलाई रोकेको छैन । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बन्दाबन्दीको समयमा चन्द्रागिरि–११ मा रु ५६ लाख लागतमा त्रिभुवन राजपथस्थित वसुन्धरा चोकदेखि गहसीसम्मको बाटो ढलान भइरहेको बताउनुभयो । “रु ५० लाख लागतमा सतुङ्गल बसस्टपदेखि नैकाप हुँदै बालकुमारी जाने बाटो ढलान र ढल निर्माण कार्य हुँदैछ”, उहाँले भन्नुभयो ।

चन्द्रागिरि नगरपालिकाले रु सात लाखको लागतमा सतुङ्गल वरपीपल चौतारोको निर्माण कार्य गरिरहेको छ । उक्त चौतारोको ढलान र प्लास्टरको काम भइरहेको नगर प्रवक्ता महर्जनले बताउनुभयो । मातातीर्थ सामुदायिक अस्पताल निर्माणको कामलाई समेत चन्द्रागिरिले रोकेको छैन ।

उक्त नगरपालिकाले सतुङ्गल सिप्रदीदेखि मातातीर्थ हुँदै देउराली जाने बाटो रु ३० लाख लागतमा ढलान गरेको छ । वाग्मती प्रदेश सरकारको रु ३० लाख, चन्द्रागिरि नगरपालिकाको रु पाँच लाख र स्थानीय जनताको रु पाँच लाखको लगानीमा उक्त बाटो ढलान गर्न लागिएको हो । प्रवक्ता महर्जनले चन्द्रागिरिका सबै वडाले विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।