खुला तार मुक्त हुँदै चन्द्रागिरि, लाइन भूमिगत गराउँदै चन्द्रागिरि नगरपालिका

काठमाडाैं । चन्द्रागिरि वडा नं १२ बलम्बु क्षेत्रमा अहिले विद्युत्को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नगर प्रमुख घन श्यामले जानकारी दिएका छन् । विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत  चन्द्रागिरिमा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको हाे। बलम्बुमा हुँदै गरेको उक्त कार्यको अनुगमनमा नगर प्रमुख सहित सो वडाका वडाध्यक्ष प्रकाश श्रेष्ठको उपस्थिति रहेको थियो। 

गत माघ १८ गते नगरपालिकाको कार्यालयमा नगर प्रमुखको अध्यक्षतामा नेपाल विद्युत प्राधिकरण, आयोजना ब्यबस्थापन निर्देशनालय, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटी भक्तपुरका प्रतिनिधिज्युहरु र विभिन्न वडाका अध्यक्षज्युहरु सहितको उक्त बैठकले नगरपालिकाभरि विभिन्न चरण गरेर तार भुमिगत गर्नेबारे छलफल भएको थियो। नगरपालिकाको सहजीकरणमा उक्त कार्य सम्पन्न गरिने बारे निर्णय भएको जानकारी दिनुभयो।

अनुगमनको क्रममा नगरप्रमुखले विद्युत प्राधिकरण संगै नेपाल टेलिकमको तार पनि भुमिगत हुने प्रक्रिया अघि बढेको कुरा जानकारी गराउनु भयो। अस्त ब्यस्त पोलमा रहेको तारको ब्यबस्थापन र दृश्य प्रदुषण निर्मुल गर्ने कार्यमा यस किसिमको तार भुमिगत गर्ने कार्यले ठुलो भुमिका खेल्ने कुरा पनि नगरप्रमुखले बताउनु भयो।