हाम्रो दहचोक साकोसले गर्यो निःशुल्क स्वास्थ्य शिविर

चन्द्रागिरि ।

हाम्रो दहचोक साकोसको सातौं स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । हाम्रो दहचोक साकोसको आयोजनामा नेपाल रेडक्रस सोसाईटी चन्द्रागिरि नगर उपशाखाको समन्वय तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ महिला विभागको प्रविधिक सहयोग एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

निःशुल्क स्वास्थ्य शिविरको नेफ्स्कुनका संचालक सदस्य नानीकाजि शाक्यले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै शाक्यले स्वास्थ्य जस्तो संवेदनशिल विषय वस्तु भएको कारण सहकारीले यस्ता कार्य गर्नु निकै नै फलदायी हुने बताए ।

संस्थाका अध्यक्ष हरिशरण थापाको सभाध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै संस्थाका अध्यक्ष तथा साविक दहचोक गाउँ विकास समितिका पुर्व अध्यक्ष समेत रहेका थापाले सबैको साथ र सहयोगमा शिविर सञ्चाल गर्न पाउँदा आम नागरिकमा सेवा पुग्ने र वृद्धहरुलाई निकै ठूलो सेवा पुग्ने बताए । उनले समग्र चन्द्रागिरिको विकासका लागि अन्य गतिविधि समेत सञ्चलन गर्ने धारणा राखे ।

चन्द्रगिरि १ का वडाअध्यक्ष राजेन्द्र के.सीले यस्तो स्वास्थ्य शिविर वर्षमा कम्तिमा पनि दूई पटक फरक फरक स्थानमा गर्नू पर्ने महशुस भएको बताए । उनले चन्द्रगिरिका स्थानीयहरूलार्इ सहज र सरल उपचार व्यवस्था मिलाउन र वडामा राम्रो र गुणस्तरीय अस्पताल आवश्यक रहेको औल्याए ।

निःशुल्क स्वास्थ्य शिविरमा तीन सय भन्दा बढि स्थानीयले स्वास्थ्य चेक जाँच तथा निःशुल्क औषधी प्राप्त गरेका थिए ।